राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले रसुवा बाढीपछि विदेशी दातृ निकाय र देशले दिएको सामग्री त्रिभुवन विमानस्थलको कार्गोमा अलपत्र अवस्थामा रहेको बताएका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा विमानस्थलमा राखिएको सामग्रीको फोटो देखाउँदै उनले पीडित क्षेत्रमा सामान नभएको सुन्न नपरोस् भन्ने धारणा राखे। त्यहाँका कर्मचारीले कोरोनाका बेलामा समेत २० कन्टेनर सामान खेर गएको बताएको सुनाएको उनको भनाइ छ। अहिले पनि त्यस्तै अवस्था आउने चिन्ता व्यक्त गरेको बताए।
“आधा नेपाललाई एक वर्ष पुग्ने सामान थन्किएको छ। जीटूजीबाट आएको सामग्री थन्काएर राखिएको छ भने विभिन्न संस्थाबाट बुझ्न आउँदा भन्सार लाग्दा कोही फर्किएर नआउने सुनिन आएको छ। त्यहाँका कर्मचारीले भन्नुभएको छ,” उनले भने।
न्यौपानेले सम्बन्धित क्षेत्रबाट माग नआएकाले राखिएको भन्ने जवाफ आएको बताउँदै त्यसबारे बुझ्न आग्रह गरे। “विदेशीले दिएको सामान यत्रतत्र एयरपोर्टमा अलपत्र छाड्ने हो भने त्यसले राम्रो गर्दैन। अरु विपद्का बेला पनि आवश्यक पर्छन्। अहिलेको आवश्यकता छ/छैन तत्काल बुझियोस्। सम्बन्धित क्षेत्रमा पुर्याइयोस्,” उनले भने।












