प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम झन्डै साढे १४ अर्ब पुगेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, बिहीबार बिहानसम्म विभिन्न नौवटा बैंकमा १० अर्ब ७९ करोड २६ लाख ६४ हजार ८९८ रुपैयाँ मौज्दात छ। त्यस्तै, कोषका दुईवटा बैंकमा रहेको डलर खातामा दुई करोड ३९ लाख ३० हजार ७३१ अमेरिकी डलर जम्मा भएको छ।
कार्यालयका अनुसार, सबै खातामा गरी १४ अर्ब ४५ करोड ९८ लाख १० हजार १७८ जम्मा भएको हो।
कोषमा जम्मा भएको रकमबाट रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब निकासा भइसकेको छ।
सरकारले हालै रसुवाका बाढी प्रभावित परिवारलाई आवास भाडा र अन्य आवश्यक खर्च व्यवस्थापनका लागि मासिक रकम उपलब्ध गराउने निर्णय गरिसकेको छ।
जसअनुसार चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार र थप प्रत्येक सदस्यका लागि दुई हजार अतिरिक्त उपलब्ध गराइने छ।












