तीन बर्षिया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको विरोधमा आक्रोशित स्थानीयबासीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका भित्रका ग्रामीण सडक समेत बन्द गराएका छन्।

जीतपुरसिमरा उपमहानगरपालिका भित्रका नीजि तथा सामुदायिक विद्यालयहरूले बिहीबार शोक सभा गरेर विद्यालय बन्द गरेका छन्।

तीन बर्षिया बालिकामाथि भएको क्रुर घटनाबाट सम्पूर्ण शैक्षिक क्षेत्र स्तब्ध भएको भन्दै निजी तथा सामुदायिक विद्यालयहरूले विज्ञप्ति प्रकाशन गरेर घटनाका दोषीलाई हदैसम्मको कारबाहीको माग गरेका छन्।

प्रहरीले समयमै ध्यान नदिएकाले बालिकाको हत्या भएको भन्दै बुधबारदेखिको आन्दोलनलाई आज पनि जारी राखेका छन्।

आन्दोलित स्थानीयले बिहीबार बिहानैदेखि उपमहानगरपालिका भित्रका ग्रामीण सडकहरूमा समेत टायर बालेर प्रदर्शन गरिरहेका छन्। यसअघि बुधबार दिउँसोबाट बन्द रहेको वीरगञ्ज–पथलैया सडक खण्डमा यातायात चल्न सकेको छैन।

गरिमाको खोजीमा इलाका प्रहरी कार्यालयले गम्भीर लापरबाही गरेको स्थानीयको आरोप छ। गरिमा हराएको बारेमा उनको बुबाले समयमै इलाका प्रहरी कार्यालय सिमरामा जाहेरी दिएको भए पनि खोजीमा गम्भीरता नदेखाएको उनीहरूको आरोप छ।

स्थानीयले इलाका प्रहरी कार्यालय सिमराका इन्चार्ज डीएसपी दिलिप क्षेत्रीलाई कारबाही गर्नुपर्ने माग राखेर अहिले प्रदर्शन गरिरहेका छन्।

इलाका प्रहरी कार्यालय सिमरा घेराउ गर्दै उनीहरूले डीएसपी क्षेत्रीलाई कारबाही गर्नुपर्ने माग अघि सारेका हुन्।

आन्दोलनरत पक्षले टायर बालेर जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरा–डुमरवाना खण्ड, पिलुवा–वडहर्वा खण्ड, सिमरा–जीतपुर तथा पथलैया–सिमरा खण्डमा पूर्णरूपमा यातायात ठप्प छ।

बारा जिल्ला प्रशासनले आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने विषयमा आफूहरु सकारात्मक रहेको र छलफलको प्रयास भइरहेको जनाएको छ।