रास्वपाका सांसद खगेन्द्र सुनारले विचौलियाहरूले प्रहरी हेडक्वार्टर कब्जा गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा यसअघि प्रहरी अधिकारीहरूसँग सवाल जवाफ गरेका सुनार आज पनि बैठकमा त्यही प्रसंग उठाएर बोलेका थिए।
उनले प्रहरीको स्रोत साधन खरिदको विषयमा भएको जानकारी अहिलेसम्म आयो कि आएन भनेर प्रश्न गरेका छन्। उनले अघिल्लो बैठकमा आफूले गरेकाप्रश्नहरूमा अहिले पनि दृढ रहेको उल्लेख गर्दै कसैलाई मानमर्दन भएको लागे अदालतमा गएर मुद्दा हाल्न चुनौती दिए।
‘हामीले १५ दिनभित्र प्रहरीको स्रोत साधन खरिदको विषयमा जानकारी पेश गर्न भनेका थियौं। त्यो आयो कि आएन ? फेरि यो बीचमा प्रहरीले करोडौंको टेन्डर आह्वान गरेको छ। निश्चित बिचौलियाले प्रहरीको हेडक्वाटर कब्जा गरेका छन्’ सांसद सुनारले भने।
उनले प्रहरी महानिरीक्षकलाई इंगित गर्दै समितिमा आएर जुहारी खेलेको आरोप लगाए। ‘अस्ती गरेको प्रश्नमा म अडिग छु। मजबुत छु। कहिँ कोही साथीहरूलाई मानमर्दन भयो भन्ने लाग्छ भने उतापट्टी अदालत छ गएर मुद्दा हाल्नुहोला, कठघरामा उभिएर जवाफ दिन तयार छु’ उनले भने,’तर सार्वभौम समितिमा आए टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन। सरकारको मानमर्दन गर्न पाइँदैन।’
समितिको गत बैठकमा सांसद सुनारको अभिव्यक्ति र शैलीप्रति बाहिर पनि निकै आलोचना भएको थियो। यो विषयमा सभामुखले समेत चासो लिएर समितिका सभापति सचिव र प्रहरी महानिरीक्षकसँग पनि छलफल गरेका थिए। रास्वपाले सांसदहरूका प्रस्तुती शैलीमा मर्यादा कायम गर्न निर्देशन पनि दिएको थियो।












