झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो एक वर्षमा दोब्बरभन्दा बढीले बढेको छ।
अस्पतालमा विशेषज्ञ जनशक्ति थपिनु, प्रसूति सेवामा सुधार हुनु तथा सरकारी अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दै जानुले प्रसूति सेवा लिनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालको तथ्याङ्क शाखाका सूचना संयोजक जेनिस घलेका अनुसार आर्थिक वर्ष २०८२–८३ मा एक हजार ७०८ जनाले प्रसूति सेवा लिएका छन्। अघिल्लो आव २०८१–८२ मा जम्मा ७८७ जना मात्र यो सेवा लिएका थिए।
त्यस्तै, आव २०८०–८१ मा भने अस्पतालबाट ८१९ जनाले प्रसूति सेवा लिएका थिए। अस्पतालको तथ्याङ्कअनुसार गत आव २०८२–८३ मा ७६५ जनाले सामान्य प्रसूतिमार्फत नवजात जन्माएका थिए भने ९२२ जनाले शल्यक्रिया सेवा लिएका थिए। प्रसूतिका क्रममा जटिलता देखिएका २१ जनाका लागि ‘भ्याकुम’ प्रविधिको प्रयोग गरिएको थियो।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार गुप्ताका अनुसार पछिल्लो समय प्रसूति सेवामा सेवाग्राहीको चाप बढेसँगै विशेषज्ञ जनशक्ति थप गरिएको हो।
यसअघि डा. एलिजा गौतम मात्र प्रसूति तथा स्त्रीरोग विशेषज्ञका रूपमा कार्यरत रहेकामा गत वर्ष डा. विपा पोखरेल र चालु वर्षको असारदेखि डा. एलिजा भट्टराई थपिएपछि अस्पतालमा हाल तीन जना प्रसूति तथा स्त्रीरोग विशेषज्ञले नियमित सेवा दिइरहेका छन्।
अस्पताल प्रशासनले सरकारी स्वास्थ्य संस्थामा सेवा विस्तारसँगै सेवाको गुणस्तर सुधार हुँदा स्थानीय तथा आसपासका क्षेत्रका महिला निजी स्वास्थ्य संस्थाको सट्टा प्रादेशिक अस्पतालमा प्रसूति गराउन आकर्षित भएको जनाएको छ।












