‘कालो सुन’को उपनामले परिचित अलैँचीले यस वर्ष पनि राम्रो बजार मूल्य पाएको छ। नयाँ अलैँची बजारमा निस्कन थालेसँगै यसको मूल्य राम्रो पाउन थालेको हो।
बिहीबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा प्रतिमन (४० किलोग्राम) ९६ हजार रुपैयाँमा अलैँची कारोबार भइरहेको छ। अलैँचीको बजार मूल्य राम्रो भएसँगै किसान उत्साहित भएर बगानमा व्यस्त हुन थालेका छन्। बेँसी क्षेत्रका किसान अहिले अलैँची टिप्न व्यस्त छन्। ताप्लेजुङमा साउनको तेस्रो सातादेखि मंसिरसम्म अलैँची टिप्ने गरिन्छ।
अलैँची टिपाइसँगै बगानमै बनाइएका भट्टीमा सुकाउने कार्यसमेत हुने गर्दछ। अलैँची ताप्लेजुङको प्रमुख नगदेबालीका रूपमा रहेको छ। अन्तर्राष्ट्रिय बजारको आधारमा नेपाली बजारमा अलैँचीको कारोबार हुने भएकाले यसको मूल्य घटबढ भइरहने स्थानीय व्यवसायी बताउँछन्।
जिल्लाका नौ स्थानीय तहमध्ये फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाबाहेक सबै वडामा किसानले अलैँची खेती गर्दै आएका छन्। हाल ताप्लेजुङमा करिब चार हजार ४५० हेक्टर क्षेत्रफलमा व्यावसायिक अलैँची खेती भइरहेको छ।
तथ्याङ्कअनुसार कोशी प्रदेशमा सात हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा किसानले अलैँची खेती गर्दै आएका छन्। नेपालमा उत्पादित अलैँचीको करिब ९० प्रतिशत निर्यात हुने गरेको छ।












