राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले वैदेशिक सहायता र गैरसरकारी संस्थामार्फत नेपालमा आउने रकमको प्रभावकारी निगरानी र वित्तीय पारदर्शिता सुनिश्चित गर्न सरकारसँग माग गरेकी छन्। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै ओलीले एनजिओ तथा आइएनजिओका परियोजनामा आउने रकम, खर्च र वास्तविक उपलब्धिबारे स्पष्ट विवरण सार्वजनिक हुनुपर्ने बताइन्।
उनले वैदेशिक सहायताबाट सञ्चालित केही गैरसरकारी संस्थाले धर्मान्तरण र नास्तिकता फैलाउने गतिविधिमा रकम प्रयोग गरिरहेको आरोप लगाइन्। ओलीले विभिन्न धार्मिक संस्थाले धर्मान्तरणका लागि गाउँ–गाउँमा मानिस परिचालन गरिरहेको दाबीसमेत गरिन्।
‘विदेशी मान्छेहरू नै गाउँ–गाउँमा खटिएको देखिरहेका छौँ। यो कुरा नियमनमा आउनुपर्छ,’ उनले भनिन्। यस्ता गतिविधिले भविष्यमा धार्मिक द्वन्द्व निम्त्याउन सक्ने भन्दै ओलीले सरकारले वैदेशिक सहायता तथा गैरसरकारी संस्थाका गतिविधिमाथि प्रभावकारी अनुगमन गर्नुपर्ने बताइन्। उनले नेपालमा आउने वैदेशिक सहायता वास्तविक रूपमा कति प्राप्त भयो र कति खर्च भयो भन्ने विवरण दातृ निकायले सरकारलाई पूर्ण रूपमा उपलब्ध गराउने व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्। ओलीले ठूला दातृ निकायसँग नेपालले गर्ने वार्ताको रणनीति सुधार गर्नुपर्ने र सहायता परिचालनमा पारदर्शिता तथा जवाफदेहिता अनिवार्य बनाउनुपर्ने बताइन्।












