राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले संसद् बैठक बहिष्कार गरेकी छिन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा आफ्नो प्रश्नमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफमा चित्त नबुझेको भन्दै उनले संसद् बैठक बहिष्कार गरेकी हुन्।
विदेशमा मृत्यु भएका धादिङका एक युवाको शव नेपाल ल्याउनका लागि उनले सरकारलाई आग्रह गर्दै आएकी छिन्। तर परराष्ट्रमन्त्री खनालले तत्काल शव ल्याउनका लागि कानूनी समस्या रहेको जवाफ दिएपछि उनी आक्रोशित बनेकी हुन्।
त्यसपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले उनलाई समय नदिएको भन्दै बस्न आग्रह गरेका थिए। साथै सभामुख अर्यालले तामाङलाई सभाको मर्यादामा रहन पनि निर्देशन दिएका थिए।
सभामुखको निर्देशनपछि सांसद तामाङले संसद् बैठक बहिष्कार गरेकी हुन्।












