कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन्।

मुख्यमन्त्री कार्कीले भदौ ५ गते शुक्रबार विश्वासको मत लिने गरी तयारी भइरहेको नेकपा एमालेका सांसद रेवतीरमण भण्डारीले जानकारी दिए। ‘नेपाली कांग्रेसले अहिलेसम्म समर्थन फिर्ता लिइसकेको छैन, तर नेकपा सरकारमा सहभागी भइसकेकाले नैतिकताका आधारमा मुख्यमन्त्रीज्यूले विश्वासको मत लिनुहुनेछ,’ भण्डारीले भने।

सोमबार नयाँ मन्त्रीहरूको शपथ ग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले पनि आफूले चाँडै विश्वासको मत लिने बताएका थिए।

यता, सरकारलाई समर्थन दिएको नेपाली कांग्रेसले भने अहिलेसम्म समर्थन फिर्ता लिएको छैन। बुधबार संसदीय दलको बैठक बसेर यसबारे आधिकारिक निर्णय गरिने कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले बताए।

थापाका अनुसार मुख्यमन्त्रीले विश्वासको मतका लागि आग्रह गरिसकेका छन्। ‘यस अगाडि प्रतिनिधिसभामा पुष्पकमल दाहाल 'प्रचण्ड'लाई समर्थन गरेर पनि कांग्रेस प्रमुख प्रतिपक्षी भएर बसेको नजिर छ, कोशीमा पनि त्यस्तै अवस्था आउन सक्छ,’ थापाले भने।

यद्यपि, दलका उपनेता हिमाल कार्कीले भने भोलि बस्ने बैठकले समर्थन फिर्ता लिने निर्णय गर्न सक्ने बताएका छन्।

अर्कोतर्फ, सत्ता साझेदार दल नेकपाका संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले विश्वासको मत लिने विषयमा आजै छलफल हुने जानकारी दिएका छन्।

मुख्यमन्त्री कार्की संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्।