सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाबारे छानबिन गर्न गठित समितिले छानबिन सकेर प्रतिवेदन बुझाएको छ।
देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिचमा साउन १० मा भएको झडपको असर मधेस प्रदेशमा पनि फैलिएको थियो।
कप्तानगञ्जमा भएको झडपमा ३ जनाको मृत्यु भएको थियो। सुनसरीमा गोली लागेर कप्तानगञ्जका ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रवीन्द्र मेहताले ज्यान गुमाएका थिए।
सिरहाको गोलबजारमा साउन १४ मा भएको प्रदर्शनमा प्रहरीसँग झडप हुँदा १८ वर्षीय गणेश यादवको मृत्यु भएको थियो। सरकारले छुट्टाछुट्टै समिति गठन गरेर घटनाबारे स्थलगत अध्ययन र छानबिन गरेको थियो।
दुवै समितिले मंगलबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले बताए। उनले भने, ‘दुईवटा समितिबाट छानबिन प्रतिवेदन आएको छ, त्यसमा भएको निष्कर्ष र सिफारिस अध्ययनको क्रममा छ।’
कप्तानगञ्ज घटनाबारे गृह मन्त्रालयका सह सचिव भूपेन्द्र थापा नेतृत्वको समितिले छानबिन गरेको थियो। सिरहाको गोलबजारमा भएको घटनाबारे गृहका अर्का सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले छानबिन गरेर सिफारिससहितको प्रतिवेदन बुझाएको हो।












