सर्वोच्च अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन्। सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार थुनामुक्त गर्न आदेश दिएपछि उनी रिहा भएका हुन्। 

हिरासतमुक्त भएपछि मंगलबार सामाजिक संजालमा उनले सत्य नमरेको र कलम हारेको छैन भन्दै आफुलाई सहयोग गर्ने सबैलाई बधाई तथा शुभकामना दिएका छन्। ‘सत्य मरेको छैन, कलम हारेको छैन,’ पत्रकार श्रेष्ठले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘सबैलाई बधाई, सबैलाई शुभकामना !’

उनले ढिलो भए पनि भ्रमको पर्दा च्यातिने विश्वास व्यक्त गर्दै सत्यको अन्ततः जित हुने संकेत गरेका छन्। उनले भने, ‘पन्छीको ठाउँ पिँजडा हैन, खुल्ला आकाश नै पृय लाग्छ उसलाई। ढिलो होला तर भ्रमको पर्दा च्यातिन्छ च्यातिन्छ।’

जनआस्थाले सार्वजनिक गरेको भनिएको जाहेरवालाको तस्बिर जाहेरवालाले नै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको देखिएको र उक्त तथ्यलाई विपक्षीले खण्डन गर्न नसकेको सर्वोच्चको आदेशमा उल्लेख छ। 

यस्तै, श्रेष्ठ जन आस्था पत्रिकाको सम्पादक देखिए पनि तस्बिर प्रकाशन भएको जन आस्था अनलाइनको सम्पादकीय भूमिकामा रहेको नदेखिएको पनि आदेशमा उल्लेख छ। वैयक्तिक गोपनीयता हननको अभियोगमा जनआस्था साप्ताहिकका प्रधान सम्पादक श्रेष्ठलाई बुधबार पक्राउ गरिएको थियो।

उनलाई गैरकानुनी थुनामा राखिएको दाबी गर्दै पत्रकार श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्चमा रिट दर्ता गराएकी थिइन्। जिल्ला अदालत काठमाडौँले सोमबार नै श्रेष्ठलाई दोस्रो पटक चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो। तर सर्वोच्चको आदेशपछि प्रहरीले सोमबार श्रेष्ठलाई रिहा गरेको छ।