राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी विधेयकमा प्रयोग गरिएका केही शब्दहरू असंवैधानिक र अपमानजनक रहेको भन्दै सुधारको माग गरेकी छिन्। 

सोमबार प्रतिनिधि सभाको बैठकमा विधेयकको सैद्धान्तिक छलफलमा बोल्दै उनले विधेयक मस्यौदा गर्नेहरूमाथि नै प्रश्न उठाएकी हुन्।

सांसद रानाले विधेयकमा ‘वेश्यावृत्ति’ र ‘वेश्यागमन’ जस्ता शब्दहरूको प्रयोग भइरहेकोमा आपत्ति जनाइन्। ‘अहिलेको अवस्थामा हाम्रो संविधानले पनि यस्ता शब्दहरूलाई अनुमति दिँदैन,’ उनले भनिन्, ‘यो विधेयक लेख्ने पनि पुरुष नै हुन् कि जस्तो लाग्छ। हरेक ठाउँमा वेश्यावृत्ति भन्ने शब्द मात्रै आइरहेको छ।’

उनले मानव बेचबिखनको प्रकृति बदलिएको भन्दै महिला मात्र नभई पुरुष र बालकहरूलाई पनि संरक्षण गर्ने गरी विधेयक अगाडि बढाउनुपर्नेमा जोड दिइन्।

विधेयकमाथिको छलफलकै क्रममा सांसद राना मगर एकाएक भावुक र आक्रोशित रूपमा प्रस्तुत भइन्। पछिल्लो समय आफूमाथि लागेका विभिन्न आरोपहरू र सामाजिक सञ्जालमा भइरहेको आलोचनालाई लिएर उनले कडा शब्दमा प्रतिवाद गरिन्।

‘आज मलाई यो गरिमामय सदनमा भन्नु छ, मलाई ‘चाइल्ड ट्रयाफिकर’ र ‘वेश्या’ भनेर थुप्रै सामाजिक सञ्जालमा लेखिएको छ,’ उनले भनिन्, ‘म च्यालेन्ज दिन्छु, यदि प्रमाण छ भने प्रमाणित गरेर देखाउनुस्। म हजारौँलाई जेल हाल्न सक्छु, तर म राज्यको एक पैसा पनि मेरो व्यक्तिगत नाममा खर्च गर्न चाहन्न।’

राजनीतिमा यति धेरै क्रूरता हुन्छ भन्ने आफूलाई नलागेको भन्दै उनले आफूलाई ‘ट्रयाफिकर’ भन्नेहरूलाई प्रमाणित गर्न चुनौती दिइन्।

सांसद रानाले विधेयकको विषय छाडेर व्यक्तिगत स्पष्टीकरण र सामाजिक सञ्जालको विषयमा बढी केन्द्रित हुन थालेपछि सभामुखले उनलाई सचेत गराएका थिए।