राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खत्री खतिवडाले आगामी भदौ २३ गते सहिदहरूको योगदान, उनीहरूका सपना र अधुरा कामबारे प्रधानमन्त्रीले संसद्मार्फत विशेष सम्बोधन गर्नुपर्ने माग गरेकी छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले सहिदहरूले देशका लागि गरेको योगदानको सम्मान गर्दै उनीहरूले अघि सारेका उद्देश्य र सुरु गरेका कामको वर्तमान अवस्थाबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने बताइन्।

उनले भदौ २३ गते सहिदहरूको नामै लिएर प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्नेमा जोड दिइन्। “सहिदहरूले देशका लागि पुर्‍याएको योगदान र उनीहरूका अधुरा काम कति पूरा भए, कति बाँकी छन्, त्यसको लेखाजोखासहित प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्छ,” उनले भनिन्।

सांसद खतिवडाले नयाँ पुस्ता (जेनजी) ले भ्रष्टाचारविरुद्ध गरेको आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिबारे पनि सरकारसँग जवाफ मागिन्। उनले भ्रष्टाचार न्यूनीकरणको मागसहित युवाहरूले ठूलो आन्दोलन गरे पनि त्यसपछि भ्रष्टाचारको अवस्था कति सुधार भयो भन्ने प्रश्न उठाइन्। ‘जेनजीले भ्रष्टाचार न्यूनीकरणका लागि ठूलो आन्दोलन गरेका थिए, तर त्यो आन्दोलनपछि भ्रष्टाचार कति न्यूनीकरण भयो त ?’ उनले प्रश्न गरिन्।

युवाहरूले उठाएको भ्रष्टाचार अन्त्यको माग र आन्दोलनको मर्मअनुसार सरकारले ठोस तथा प्रभावकारी काम गर्न सकेको छ कि छैन भन्नेबारे पनि प्रधानमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्ने खतिवडाको भनाइ थियो।