गोरखाको सहिद लखन गाउँपालिका–९ नामजुङले बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणसँगै डुबान प्रभावितको पुनर्वास, स्थानीय पूर्वाधार पुननिर्माण तथा स्वास्थ्य सेवा सुधारका लागि आवश्याक पहल गरिदिन गृहमन्त्री सुधन गुरुङ समक्ष माग गरेको छ।
वडा अध्यक्ष रामकुमार श्रेष्ठले गृहमन्त्री गुरुङलाई बुझाएको ज्ञापनपत्रमा बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका क्रममा डुबान क्षेत्रमा पर्ने बस्ती तथा पूर्वाधारको उचित व्यवस्थापन र प्रभावित नागरिकको पुनर्वासको लागि आवश्याक नीति तथा कार्यक्रममार्फत समन्वय गर्न आग्रह गरिएको वडा अध्यक्ष श्रेष्ठको भनाइ छ।
साथै डुबान क्षेत्रमा पर्ने पूर्वाधारको पुननिर्माणलाई प्राथामिकताका साथ अघि बढाउन माग गरिएको छ। ज्ञापनपत्रमा निर्माण सम्पन्न भइसकेका भीमसेनश्वर महादेव मन्दिरलाई उचित स्थानमा पुनस्थापन गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी आवश्याक व्यवस्थापन गर्न समेत माग गरिएको छ।
त्यस्तै चर्चुला–बुंकोटघाट सडक कालोपत्रे गर्ने कार्यलाई निरन्तरता दिन र स्थानीय नागरिकको आवगमन सहज बनाउन आवश्यक पहल गर्न आग्रह गरिएको छ। नामजुङ स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालनका साथै दक्ष चिकित्सक सहित आवश्यक स्वास्थ्य जनशक्तिको व्यवस्थापन गर्न पनि वडा कार्यालयले माग गरेको छ।
वडा अध्यक्ष रामकुमार श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा स्थानीयस्तरका महत्वपूर्ण समस्या समाधानका लागि सम्बन्धित निकायबीच समन्वय गरी आवश्यक कदम चालिदिन गृहमन्त्री गुरुङसमक्ष अनुरोध गरिएको छ।
बुढीगण्डकी आयोजना निर्माणसँग जोडिएको प्रभावित क्षेत्रका नागरिकको पुनर्वास, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, सडक पूर्वाधार र स्वास्थ्य सेवा जस्ता विषयलाई प्राथामिकतामा राखेर राज्यले ठोस निर्णय लिनुपर्ने वडा कार्यालयको माग छ।
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री गुरुङले बुढीगण्डकी जलविद्युत् आयोजनासँग सम्बन्धित समस्या समाधनाको लागि सरकारले आवश्यक नीतिगत निर्णय गरी प्रभावित क्षेत्रका नागरिकको माग सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुृभएको छ।
आयोजना र प्रभावितको पुनर्वास पूर्वाधार पुननिर्माण लगायत विषयमा सम्बन्धित निकायसँग समन्वय गरी समाधान खोजिने गृहमन्त्री गुरुङको भनाइ छ ।












