तेलुगु फिल्मका अभिनेता, निर्माता तथा निर्देशक गिरी बाबुको ८३ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित उनको शनिबार हैदराबादस्थित निजी अस्पतालमा निधन भएको हो।
पाँच दशकभन्दा बढी समय फिल्म क्षेत्रमा बिताएका गिरी बाबुले ६०० भन्दा बढी फिल्ममा अभिनय गरेका थिए। सन् १९७३ मा ‘जगमे माया’ बाट अभिनय यात्रा सुरु गरेका उनले मुख्य अभिनेता, खलनायक र हास्य कलाकारका रूपमा काम गरेका थिए।
‘करुणामयुडू’, ‘सिम्हा गर्जना’, ‘सिंहासनम’, ‘खड्गम’, ‘अथाडू’ र ‘गीत गोविन्दम’ उनका चर्चित फिल्म हुन्।
उनले ‘जयभेरी पिक्चर्स’ नामक निर्माण कम्पनी स्थापना गरी फिल्म निर्माण तथा निर्देशनसमेत गरेका थिए। उनका छोरा रघुबाबु पनि तेलुगु फिल्मका चर्चित हास्यकलाकार हुन्।
गिरी बाबुको निधनप्रति तेलुगु फिल्म क्षेत्रका कलाकार तथा प्रशंसकहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।












