मोरङको रतुवामाई नगरपालिका–९ भौडा टोलमा ग्यास सिलिण्डरबाट ग्यास लिक भएर लागेको आगोले जलेर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
आगोले जलेर घाइते भएकी ३० वर्षीया सुरक्षा भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा आइतबार बिहानका राति २ः४५ बजेतिर मृत्यु भएको हो।
प्रहरीका अनुसार गत कात्तिक २४ गते हलीतिहारका दिन अपराह्न करिब ४ः३० बजेतिर लोकनाथ भट्टराईको दुईतले पक्की घरको भुइँतलामा रहेको भान्छा कोठामा ग्यास सिलिण्डरबाट ग्यास लिक भएर आगलागी भएको थियो। आगलागीबाट भान्छा कोठामा रहेका भाँडावर्तन, फर्निचर, अन्नपात, लत्ताकपडा, एक थान फ्रिज, एक थान दराज र एक थान टेलिभिजन जलेर नष्ट भएका थिए।
आगलागीको चपेटामा परेकी सुरक्षा भान्छा कोठाबाट बाहिर निस्कने क्रममा जलेर घाइते भएकी थिइन्। उनी लोकनाथ भट्टराईकी छोरी हुन्।
माइती घरमा जलेर घाइते भएकी उनलाई सुरुमा उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको थियो। सोही दिन थप उपचारका लागि सोनेपाली सेनाको हेलिकोप्टरमार्फत कीर्तिपुर बर्न अस्पताल पठाइएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको जानकारी आइतबार बिहान उनका श्रीमान प्रमोद पोखरेलले इलाका प्रहरी कार्यालय सिजुवालाई गराएका थिए। आगलागीबाट भान्छा कोठामा रहेका सामान जलेर नष्ट हुँदा करिब १ लाख १५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।












