नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको चुनौती दिएको छ। कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १५३ रन बनाएको हो।

कर्णालीका लागि हुसेन तलतको अर्धशतक बनाए। उनले नटआउट ५१ रन जोडेका हुन्। उनले ३३ बलको सामना गर्दा तीन छक्का र दुई चौका हिर्काए।

कर्णालीका लागि आरिफुल स्लामले ३५ रन बनाए। विष्फोटक ब्याटिङ गरेका उनले १५ बलको सामना गर्दा चार चौका र दुई छक्काको मद्दतमा ३५ रन जोडेका हुन्। कप्तान डेबिड मिलर ५ रनमा आउट हुँदा दिपक डुम्रेले ७ रन जोडे। सोमपाल कार्मी ४, मार्क वाट ६ रनमा आउट भएको खेलमा सचिन शर्मा शून्यमै पेभिलियन फर्किए। सात विकेट गुमेको अवस्थामा क्रिजमा आएका गुल्सन झाले दुई छक्का र एक चौका हिर्काएर ६ बलमा १८ रन जोड्दा आउट भए।

कर्णालीलाई सस्तैमा समेट्न चितवनका लागि कमलसिंह ऐरी, सलाहुद्दीन खान र उसामा मीरले समान दुईदुई विकेट हात पार्दा रिजन ढकाल र सिकन्दर राजाले एकएक विकेट हात पारे। अब केही बेरमा चितवनले जवाफी ब्याटिङ गर्नेछ।