घरपालुवा जनावरका लागि प्रयोग हुने खानेकुराको प्याकेटभित्र लुकाएर ल्याइएको साढे ५ किलो हेरोइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको छ। अन्तर्राष्ट्रिय बजारमा करिब २२ करोड रुपैयाँ मूल्य पर्ने उक्त लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ५२ वर्षीय रेवराज टिघारे छन्। थाइल्यान्डबाट काठमाडौं आएका उनको लगेज जाँच गर्ने क्रममा खरायो र बिरालोको खानाको प्याकेटभित्र लुकाइएको सेतो हेरोइन फेला परेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

विमानस्थलमा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले टिघारेको सामान शनिबार बिहान नियन्त्रणमा लिएर जाँच गरेको थियो। सोही क्रममा सामान्य रूपमा देखिने घरपालुवा जनावरको आहारका प्याकेटभित्र ठूलो परिमाणमा हेरोइन लुकाएर ल्याइएको खुलेको हो।

प्रहरी अनुसन्धानका क्रममा टिघारेको विगतको अन्तर्राष्ट्रिय यात्रा विवरणसमेत शंकास्पद देखिएको छ। उनी यसअघि दुई पटक लाओसबाट काठमाडौं हुँदै भारत गएको अभिलेख भेटिएको छ। त्यस्तै, उनको भ्रमण विवरणमा जिम्बाब्वे, सुडान, बंगलादेश र कम्बोडियाको यात्रा पनि उल्लेख छ।

यी यात्रा विवरण र लागुऔषध ओसारपसारको शैलीका आधारमा उनी अन्तर्राष्ट्रिय लागुऔषध कारोबार गर्ने गिरोहसँग जोडिएको हुन सक्ने प्रहरीको आशंका छ। पक्राउ परेका टिघारेमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ।