नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई आफूले मान्यता नदिएको बताएका छन्। कांग्रेसको इतरपक्षको राष्ट्रिय भेलाको बन्द सत्रमा बोल्दै देउवाले पार्टीको सहमतिबिना जबरजस्ती विशेष महाधिवेशन गरिएको दाबी गरे।
विशेष महाधिवेशनका विषयमा आफूहरूले अदालतमा मुद्दा दायर गरेको उल्लेख गर्दै उनले अदालतको पूर्ण निर्णय आउन बाँकी रहेकाले यसबारे धेरै टिप्पणी नगर्ने बताए।
देउवाले भने, ‘पञ्चायतकालदेखि नै न्यायालयले, सर्वोच्च अदालतदेखि सम्पूर्ण न्यायालयले हामीलाई न्याय दिएको हो। वास्तवमा भन्ने हो भने राजाले थुक्दा पनि राजाको आयोगलाई खारेज गरेको हो। पञ्चायतकालमा पनि धेरै जेलबाट छुटेको म। अहिले पनि न्यायालयले मलाई बचाएको छ, जसको कारण म नेपालमा आइपुगेको छु।’ विशेष महाधिवेशनबारे उनले पार्टीको सहमतिबिना अधिवेशन नगर्न आफूले आग्रह गरेको बताए।
उनले भने, ‘मैले त्यो अधिवेशनलाई मानेको पनि थिइनँ। सबैलाई मैले भनेको थिएँ– पार्टीको सहमतिले गर्यौँ, विशेष महाधिवेशन यसरी नगर्नु। भन्दा भन्दै जबरजस्ती विशेष महाधिवेशन गरेर अन्याय तरिकाले धेरै साथीहरूलाई बाहिर राखियो। जसको खिलाफमा हामी अदालतमा गयौँ।’
अदालतप्रति आफूलाई पूर्ण विश्वास रहेको बताउँदै देउवाले अदालतको निर्णय आफूले मान्ने स्पष्ट पारे।
उनले भने, ‘मलाई विश्वास छ, अदालतको पूर्ण निर्णय आउन बाँकी छ। त्योभन्दा अगाडि धेरै कुरा भन्नु छैन। म अदालतलाई पूर्ण विश्वास गर्दै अदालतको कुरा मान्छु।’












