कोशी लोकमार्गअन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–६ चारखोले गोलाईमा आइतबार बिहान यात्रु वाहक बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको को १ ख ५१०५ नम्बरको बस बिहान करिब ११ः१५ बजेतिर अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परी तेह्रथुमको छथर गाउँपालिका–१ की ११ वर्षीया नुमा लिम्बू, छथर–४ का ६९ वर्षीय कविराज थापा र सोही ठाउँकी ५६ वर्षीया शुकमाया लिम्बू घाइते भएका छन्।घाइते तीनै जनालाई तत्काल उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। 

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।