राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष राजवंशीले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार ‘सबैलाई सुन्ने र थुन्ने सरकार’ भएको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले ‘खासमा बालेन सरकार कस्तो सरकार हो ?’ भन्दै प्रश्न गरेपछि सांसद राजवंशीले त्यसको जवाफ दिँदै यस्तो बताएका हुन्।

राजवंशीले वर्तमान सरकार भ्रष्टाचार न्यूनीकरण गर्दै सुशासन कायम गर्न प्रतिबद्ध रहेको बताए। उनले न्यायालय, कर्मचारीतन्त्र वा राजनीतिक संयन्त्र जुनसुकै क्षेत्रमा गलत काम गर्ने व्यक्ति भेटिएमा सरकारले कारबाही अघि बढाउने दाबी गरे।

उनले भने, ‘यो सबैलाई सुन्ने र थुन्ने सरकार हो।’

राजवंशीले २०८२ सालको निर्वाचनपछि मुलुकको राजनीतिमा ठूलो क्रमभंगता आएको र त्यसकै परिणामस्वरूप नयाँ सरकार गठन भएको बताए। यो परम्परागत शैलीको सरकार नभएको दाबी गर्दै उनले विगतमा भ्रष्टाचार गर्नेहरूमाथि कारबाही प्रक्रिया अघि बढाइने बताए।

यसअघि एमाले सांसद पोखरेलले बालेन नेतृत्वको सरकारको स्वरूप र कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारलाई विभिन्न उपमासहित टिप्पणी गरेका थिए। त्यसको जवाफमा राजवंशीले सरकारको प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन रहेको बताएका हुन्।