सुनसरीको हरिनगर गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको सिटी सफारीमा लुकाएर ल्याइएको २२ हजार ४७० पिस लागुऔषध बरामद गरिएको हो।
हरिनगर गाउँपालिका–७ खानचोकमा आइतबार दिउँसो प्रहरी चौकी घुस्कीहाट र सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा टोली घुस्कीहाटबाट संयुक्त रूपमा खटिएको टोलीले लागुऔषध बरामद गरेको हो। प्रहरीका अनुसार दिउँसो २ः२० बजेतिर भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–००४ ह १०५२ नम्बरको सिटी सफारीलाई प्रहरीले रोक्न खोजेको थियो।
तर, प्रहरीलाई देखेपछि चालकसहित त्यसमा सवार व्यक्तिहरू सफारी छाडेर फरार भएका थिए। त्यसपछि प्रहरीले सिटी सफारी चेकजाँच गर्दा स्पास्पेन प्रो नामक १५ हजार थान ट्याब्लेट र ट्रामोल ५० नामक ७ हजार ४७० थान क्याप्सुल फेला पारेको थियो।
बरामद लागुऔषध र सिटी सफारी नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार फरार चालक तथा लागुऔषध ओसारपसारमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ।












