सुनसरीको हरिनगर गाउँपालिका-६ स्थित छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नमा घाटमा छठ पूजा सम्पन्न गरी भक्तजनहरू घर फर्किसकेपछि अपरिचित व्यक्तिहरूले पूजास्थलमा तोडफोड गरेका थिए।

पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–६ निवासी १९ वर्षीय रिजवान मन्सुरी र सोही स्थानका २१ वर्षीय मोहम्मद जुहर मियाँ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रहरीले क्षति पुगेको पूजास्थल पुनर्निर्माणका लागि सहयोग गर्न तथा धार्मिक आस्थासँग जोडिएका यस्ता कार्यमा संयमित रहन सबैमा हार्दिक अनुरोध गरेको छ।