झापामा मृत भेटिएका ४३ वर्षीय यशु खतिवडा भनेर चिनिने योगेन्द्र खतिवडाको शव परिवारले बुझेका छन्।
आइतबार कनकाई नगरपालिका वडा नम्बर–३ स्थित आफ्नै घरको दोस्रो तलामा उनी झुन्डिएको अवस्थामा भेटिएका थिए। भद्रपुर अस्पतालमा पोस्टमार्टम गरेर उनको शव परिवारलाई हस्तान्तरण गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकले बताए।
कनकाईमा फोटो स्टुडियो सञ्चालन गर्दै आएका ४३ वर्षीय खतिवडासँग काठमाडौंमा थुनामा रहेका इनम सापकोटाको ‘कनेक्सन’ रहेको भन्ने विवरणहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। तर, प्रहरीको अनुसन्धानबाट अहिलेसम्म त्यसबारे पुष्टि भएको छैन। झापाकी एसपी बसुन्धरा खड्काले त्यसबारे पुष्टि हुने विवरणहरू फेला नपरेको बताइन्।
प्रहरीले यशुको मोबाइल सोमबार बिहान उनको घरबाट बरामद गरेको छ। यसअघि मोबाइल फेला परेको थिएन। मोबाइल परीक्षणका लागि प्रहरी हेडक्वार्टरको फरेन्सिक ल्याबमा पठाइने डीएसपी पाठकले जानकारी दिए। यशुले सामाजिक सञ्जाल फेसबुकमा ‘इनम सापकोटाको नामबाट आएको म्यासेज आफ्नो परिवार र निर्दोष बुवालाई फसाउन कसैले रचेको नाटक’ भनेका छन्।
मृत्यु रोज्नुअघि उनले सामाजिक सञ्जालमा आफ्नो गल्तीको सजाय परिवारलाई नदिन आग्रह गर्दै पोस्ट गरेको भेटिएको छ। प्रहरीले सामाजिक सञ्जालमा उनले पोस्ट गरेको विषयमा पनि अनुसन्धान गरिरहेको छ।












