धनगढीबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोतीमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्।

सोमबार बिहान करिब ६ः४० बजे कावासोती नगरपालिका–११ लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा सु.प्र.०१–००१ ख ३४७५ नम्बरको बस दुर्घटनामा परेको हो। चालकले बसको नियन्त्रण गुमाउँदा बस सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

दुर्घटनालगत्तै २५ जना घाइते भएको विवरण सार्वजनिक भएको थियो। पछिल्लो विवरणअनुसार घाइतेको संख्या ३३ पुगेको छ। बसमा चालकसहित ४१ जना सवार रहेको खुलेको छ।

घाइतेमध्ये एक जनालाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज र ३२ जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाइएको छ। 

दुर्घटनामा घाइते हुनेहरूमा कैलालीका शिवदत्त राना, डम्बरबहादुर माली, खेमा मल्ल, शोभा मल्ल, चाँदनी खत्री र जानु चौधरी छन्। त्यस्तै, दार्चुलाका केशव धामी, प्रतिक्षा धामी, दयाकृष्ण जोशी, नविना भट्ट, रोहित लोथेल, रमेश जोशी र श्रुती जोशी घाइते भएका छन्।

बैतडीका धाना चन्द, प्रेमबहादुर चन्द, राजेन्द्र जोशी, भागरथी जोशी, रेणुका जोशी र महेश बिसी पनि घाइते भएका छन्। डडेल्धुराका महेश पाण्डे, डम्बर सिंह साउद, गीता कठायत, रक्षा कठायत, पुष्पा भाट र पवित्रा रावल घाइते भएका छन्।

यसैगरी, कञ्चनपुरका जेनी राना र प्रिया साउद, डोटीका बसन्त बलायर, अंकित यादव, ज्योति बुडाल र धिरज बुडाल, अछामका अमित साउद तथा धनुषाका भानु यादव घाइते भएका छन्।

बसका चालक कैलालीको लम्कीचुहा नगरपालिका–१० निवासी ४७ वर्षीय ठग्गराम डगौरा थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।