बझाङको बुंगल नगरपालिका–१०, टुमेडामा अटो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा एक बालक बेपत्ता भएका छन्।
सोमबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट सोहि ठाउँ को वडा नं. ११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटोको ब्रेक फेल भई सडकबाट करिब ९०० मिटर तल भिरमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक उपेन्द्र तिमिल्शेनाले बताए। अटोमा चालकसहित ४ जना सवार रहेको बताइएको छ।
दुर्घटनामा बुंगल नगरपालिका–१० की ४० वर्षीया राजमति महरा, १६ वर्षीया तारा महरा र ६ वर्षीया डल्ली महराको घटनास्थलमै मृत्यु भएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पुतलीलेकबाट प्रहरी सहायक हवल्दार उत्तम सिंह बोहराको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनास्थल प्रहरी पोस्टबाट करिब एक घण्टा पैदल दूरीमा रहेको जनाइएको छ।
बालकको खोजी कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान तथा विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।












