नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत विराटनगर महानगर कार्यसमितिको सभापति पदमा कृष्णबहादुर कार्की भारी मतान्तरका साथ विजयी भएका छन्।

बुधबार सम्पन्न मतदानमा कुल ८९८ मतदातामध्ये ७९७ जनाले मतदान गरेका थिए। बिहीबार बिहानदेखि सुरु भएको मतगणनाको अन्तिम परिणाम अनुसार कार्कीले निकटतम प्रतिद्वन्द्वी केशव गिरीलाई ५२० मतान्तरले पराजित गरेका हुन्। विजयी कार्कीले ६४६ मत प्राप्त गर्दा गिरीले १२६ मत मात्र प्राप्त गरे।

त्यस्तै, उपसभापति (महिलातर्फ) श्रुति शर्मा ४९५ मत प्राप्त गर्दै विजयी भएकी छन्। उनकी प्रतिस्पर्धी कृष्णाकुमारी साहले २२९ मत प्राप्त गरिन्।

जिल्ला कार्यसमिति सदस्यमा (महानगर महिलातर्फ २ जना) सावित्रा पोखरेल (४३२ मत) र उमा घिमिरे (३८१ मत) निर्वाचित भएका छन्। जिल्ला कार्यसमिति सदस्य (महानगर खुलातर्फ ३ जना) ज्ञानेश्वर नेपाल (२८८ मत), सुमन प्रसाईं (२०५ मत) र सुरेन्द्र भट्टराई ‘सुगल’ (२०४ मत) निर्वाचित भएका छन्।

यसअघि उपसभापतिमा शुभाषिश कोइराला, सचिव वीरेन्द्रकुमार यादव र सहसचिव टीकाराम सापकोटा निर्विरोध निर्वाचित भइसकेका छन्।