नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्तालाई पद र व्यक्तिगत स्वार्थभन्दामाथि उठेर देश र जनताको हितमा काम गर्न आव्हान गर्नुभएको छ। 

झापाको बिर्तामोडमा आइतबार आयोजित ‘मिसन पार्टी जागरण अभियान–२०८३’ कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री वा पार्टी अध्यक्ष बन्ने उद्देश्यले राजनीतिमा नआएको बताउनुभयो। “देश बनाउन हिँडेका हौँ। देशका लागि काम गर्न लागेका छौं। देश बनाउन हामी हिँड्नुपर्छ” पूर्व प्रधानमन्त्री ओलीले भन्नुभयो।

उहाँले राजनीतिमा व्यक्तिगत लाभ र पद प्राप्तिको सोच राख्न नहुने बताउँदै राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। “प्रधानमन्त्री बनौँला, पार्टी अध्यक्ष बनौँला भनेर म हिँडेको थिइनँ र छैन” उहाँले भन्नुभयो। ओलीले नेता–कार्यकर्ताले आफूले के प्राप्त गर्नेभन्दा देश र जनताका लागि आफूले के दिन सकिन्छ भन्ने सोच्नुपर्ने बताउनुभयो। “राष्ट्रिय हितको भारी बोकेर हिँडेका हौँ। पाउला र खाउँला भन्ने सोच हामीमा रहनु हुँदैन” उहाँले भन्नुभयो। 

उहाँले राजनीति स्वार्थका लागि नभइ आदर्श र देश निर्माणका लागि हुनुपर्ने धारणा राख्नुभयो। “देश र जनताका लागि मैले के दिन सकेँ भन्नेतर्फ लाग्नुपर्छ। स्वार्थका लागि नभइ आदर्शका लागि अघि बढौँ” ओलीले भन्नुभयो। जस्तोसुकै परिस्थितिमा पनि हामीले देश र जनताको बारेमा सोचौं, उहाँले आग्रह गर्नुभयो।

यसैबिच, एमाले अध्यक्ष ओलीले पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनका विषयमा चलाइएको चर्चा निरर्थक भएको बताउनुभयो। उहाँले पार्टी पुनर्गठन तथा नेतृत्व हटाउने विषयमा विभिन्न किसिमका हल्ला चलाइएको भन्दै त्यसको कुनै आधार नभएको दाबी गर्नुभयो। “पार्टी पुनर्गठन र नेतृत्व हटाउन बेतुकको हल्ला हो। यो सम्भव र आवश्यक छैन” ओलीले भन्नुभयो।

आन्दोलन संकटमा पर्दा विगतमा तीन पटक पार्टी तथा कम्यूनिष्ट आन्दोलन पुनर्गठन भएको स्मरण गराउँदै उहाँले ती पुनर्गठन विशिष्ट परिस्थितिमा भएको दाबी गर्नुभयो। अहिलेको अवस्थामा त्यस्तो आवश्यकता नरहेको उहाँको भनाइ थियो। कार्यक्रममा ओलीले पार्टीलाई थप सुदृढ बनाउँदै देश र जनताको पक्षमा प्रभावकारी रूपमा अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गर्नुभएको थियो।

बिर्तामोडमा आयोजित कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। ‘मिसन पार्टी जागरण अभियान–२०८३’ मार्फत पार्टी संगठनलाई थप सक्रिय बनाउने तथा कार्यकर्तामाझ राजनीतिक जागरण अभिवृद्धि गर्ने उद्देश्य राखिएको नेकपा (एमाले) झापा अध्यक्ष प्रेम गिरीले बताउनुभयो।