चितवनको राप्ती नगरपालिकाको एक बस्तीमा पसेर आतङ्क मच्चाएको एउटा बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ।
राप्ती नगरपालिका वडा नम्बर १ को बस्तीमा पसेको उक्त बाघलाई निकुञ्जको प्राविधिक टोलीले हात्तीको सहयोगमा नियन्त्रणमा लिएको हो।
आइतबार बिहान अचानक बस्तीमा बाघ पसेपछि स्थानीयवासी त्रसित बनेका थिए। बाघको आक्रमणबाट स्थानीय ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका छन्। त्यस्तै, दिला कुमारी तामाङको एउटा गाई सामान्य घाइते भएको छ। बाघको आक्रमणबाट घाइते भएका अधिकारीको हाल भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको जनाइएको छ।
घटना लगत्तै स्थानीय प्रशासन र निकुञ्ज प्रशासनलाई खबर गरिएको थियो। खबर पाउनासाथ निकुञ्जबाट हात्ती र प्राविधिक टोली घटनास्थलमा खटिएको थियो। टोलीको अथक प्रयासपछि बाघलाई ‘डार्ट’ (बेहोस) गरेर नियन्त्रणमा लिइएको निकुञ्ज प्रशासनले जनाएको छ।
बस्तीमा पसेर उपद्रो मच्चाएको बाघ नियन्त्रणमा आएसँगै लामो समयदेखि डर र त्रासका बीच बसेका स्थानीयवासीले राहतको सास फेरेका छन्। नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जको सुरक्षित स्थानमा लैजाने तयारी भइरहेको छ।












