नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू हिन्दू धर्म मान्ने व्यक्ति भए पनि सबै धर्मको सम्मान गर्ने बताएका छन्।
कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलाको बन्दसत्रलाई आइतबार सम्बोधन गर्दै देउवाले आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारे।
देउवाले आफूलाई सनातन हिन्दू राज्यका विषयमा धारणा राख्न आग्रह गरिएको भन्दै व्यक्तिगत रूपमा आफू हिन्दू भएको बताए।
‘म हिन्दू हुँ, मेरो ब्रतबन्ध गरेपछि बहिनीको बिहे गर्नुपर्छ भनेर गरेको। बिहे पनि गुह्येश्वरीमा गरेको हुँ,’ उनले भने, ‘व्यक्तिगत रूपमा हिन्दू हुँ। धार्मिक स्वतन्त्रताको पक्षमा छु। पशुपतिमा जान्छु।’
उनले आफू कुनै धर्म वा समुदायको विरोधी नरहेको पनि स्पष्ट पारे। नेपालमा मुस्लिम, किराँतलगायत विभिन्न धर्म मान्ने समुदाय रहेको उल्लेख गर्दै सबैको धार्मिक अधिकार सुरक्षित हुनुपर्ने उनको भनाइ थियो।
‘म हिन्दू। म कसैको विरोधी होइन। नेपालमा मुस्लिम धर्म मान्ने मानिस छन्, किराँतहरू छन्। म कसैको खिलाफमा छैन,’ देउवाले भने, ‘मैले आफू हिन्दू हुँ भन्न पाउनुपर्यो नि। हिन्दूमा विश्वास गर्न पाउनुपर्यो नि मैले। यसमा कुनै कन्फ्युजन नहोस्।’
देउवाले बौद्धलगायत सबै धर्मलाई आफूले सम्मान र समर्थन गर्ने बताए। उनले धार्मिक आस्थाका आधारमा कसैप्रति विभेद गर्न नहुने भन्दै व्यक्तिगत धार्मिक विश्वास र राज्यको धार्मिक स्वतन्त्रताको विषयलाई अलग रूपमा बुझ्नुपर्ने संकेत गरे।












