विश्वप्रसिद्ध फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले प्रेमिका जर्जिया रोड्रिग्वेजसँग विवाह गरेका छन्। पोर्चुगिज स्ट्राइकर रोनाल्डो आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत दुईवटा हातको तस्वीर सेयर गर्दै विवाहको खुसी साटेका हुन्। तस्वीरमा दुवैको हातमा विवाहको औंठी लगाइएको देखिन्छ।
यसलाई वर्षको उत्कृष्ट विवाह भन्दै पोर्चुगिज सञ्चार माध्यमहरूले यो जोडीले अगस्ट ११ का दिन लिस्बन नजिकैको तटीय सहर कास्काइमा विवाह बन्धनमा बाँधिएको जानकारी दिएका छन्। उनीहरूको विशेष विवाह समारोहमा उनीहरूका पाँचै जना सन्तानहरूको समेत उपस्थिति रहेको थियो।
रोड्रिग्वेज मड्रिडको एक गुची पसलमा काम गरिरहेको बेला उनीहरूबीच भेट भएको थियो र त्यसको १० वर्षदेखि यो जोडीसँगै रहँदै आएको छ। त्यो समयमा रोनाल्डो स्पेनिश क्लब रियल मड्रिडबाट व्यावसायिक फुटबल खेल्दै थिए। उनीहरूले गत वर्षको अगस्ट ११ कै दिन आफ्नो इन्गेजमेन्ट भएको घोषणा गरेका थिए।
आफ्नो लामो र चम्किलो फुटबल करिअरमा रोनाल्डोले झन्डै १,००० गोल गरिसकेका छन्। उनले पोर्चुगलको लिस्बनस्थित स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस, साउदी अरेबियाको अल नासर र पोर्चुगल राष्ट्रिय टोलीबाट व्यावसायिक फुटबल खेलिसकेका छन्।












