राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीलाई स्पष्टीकरण सोध्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग माग गरेकी छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठककको शून्य समयमा बोल्दै सांसद ओलीले मन्त्रीले राज्यप्रणालीको क्षयीकरण गरेको टिप्पणी गरिन्।

उनले मन्त्री गौरी कुमारीले आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन छोडेर मन्त्री स्वय् केही व्यक्तिलाई ग्यास बाँड्न हिँडेको भन्दै आपत्ति जनाइन्।

‘के मन्त्रीको काम व्यक्ति-व्यक्तिलाई ग्यास बाँड्दै हिँड्ने हो? कति जनालाई उहाँले फोन गर्न सक्नुहुन्छ- १० जना, २० जना, ३० जना ? हजार, लाखौंलाई त उहाँले फोन गर्न सक्नुहुन्न’, सांसद ओलीले भनिन्, ‘उहाँको जिम्मेवारी भनेको त यो प्रणालीलाई काम गराउने हो। उहाँले व्यक्तिगत तवरबाट दया दिएजस्तो दुई/चार जनालाई ग्यास बाँडेर हिँडिराख्नुभएको छ । राज्यको दया होइन, हामीले व्यवस्थापन खोजेका हौं।’