श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशमा व्याप्त बेथिति, भ्रष्टाचार र दण्डहीनताको अन्त्यका लागि अपराधीहरूलाई सार्वजनिक रूपमा कोर्रा हान्ने कानुन बनाउन प्रस्ताव गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद राईले विद्यमान कानुनी प्रक्रिया झन्झटिलो र सेटिङमा चल्ने गरेको भन्दै कडा सजायको व्यवस्था गर्न माग गरेका हुन्।
सांसद राईले संसद्मा बोल्दै अपराधीहरूलाई समात्ने, छानबिन गर्ने र फेरि सेटिङमा छाड्ने प्रवृत्तिले देश बर्बाद भएको बताए। ‘मेरो–तेरो नभनीकन फटाहालाई कर्यापझ्याप पारेर हानौँ न कोर्राले। त्यस्तो कानुन बनाऔँ, यही हो कानुन बनाउने ठाउँ,’ राईले भने। राईले मायाले छानबिन गरेर र सोधपुछ गरेर अपराधीहरू नसुध्रिने दाबी गर्दै बेथितिको समूल नष्ट गर्न कोर्रा नै अन्तिम विकल्प भएको बताए।
राईले देशको सुरक्षा अवस्था र प्रधानमन्त्रीको कार्यशैलीप्रति पनि प्रश्न उठाए। प्रधानमन्त्रीले छिमेकी मुलुकसँगको सीमा विवादका विषयमा दिएको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको उनको आरोप थियो। ‘हामी कस्तो देशमा छौँ जहाँ प्रधानमन्त्री नै भन्छन् हामीले छिमेकीको सीमा मिचेका छौँ। यहाँ न सुरक्षा छ, न न्याय, न सेवा सुविधा,’ राईले भने।
देशमा कोही पनि सुरक्षित नरहेको भन्दै उनले सांसदहरूले समेत असुरक्षित महसुस गरिरहेको बताए।












