नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुरुष राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेललाई भावुक सन्देशसहित बिदाइ गरेको छ। क्यानले रोहितको कप्तानीमा नेपाली क्रिकेटले हासिल गरेका उपलब्धि र उनको योगदानको उच्च प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना दिएको हो।
क्यानले सामाजिक सञ्जालमार्फत रोहितलाई धन्यवाद दिँदै राष्ट्रको आशा बोकेर जोस, समर्पण र अटल दृढताका साथ नेपाली टोलीको नेतृत्व गरेको उल्लेख गरेको छ। रोहितको नेतृत्वमा नेपाली पुरुष राष्ट्रिय टोलीले महत्त्वपूर्ण उपलब्धि हासिल गर्नुका साथै नेपाली क्रिकेटको यात्रामा लामो समयसम्म स्मरणीय रहने क्षण सिर्जना गरेको क्यानले जनाएको छ।
क्यानले टोली, देश र क्रिकेटप्रतिको रोहितको प्रतिबद्धता सधैँ प्रेरणादायी रहेको उल्लेख गरेको छ। कप्तानीबाट अलग भए पनि उनले आगामी दिनमा पनि उस्तै भावना, गर्व र समर्पणका साथ नेपाली क्रिकेटमा योगदान दिने विश्वास क्यानले व्यक्त गरेको छ।
‘तपाईँको नेतृत्वमा हामीले उल्लेखनीय उपलब्धि हासिल गर्यौ र नेपाली क्रिकेट यात्राको गौरवपूर्ण हिस्सा बन्ने क्षणहरू सिर्जना गर्यौ,‘ क्यानले भनेको छ। क्यानले रोहितको नेतृत्वलाई केवल कप्तानीको भूमिकामा सीमित नगरी नेपाली क्रिकेटप्रतिको उनको समग्र योगदानका रूपमा मूल्याङ्कन गरेको छ। राष्ट्रिय टोलीको नेतृत्व गर्ने क्रममा उनले देखाएको प्रतिबद्धता र समर्पणलाई क्यानले प्रेरणाको स्रोतका रूपमा उल्लेख गरेको छ। क्यानले आफ्नो सन्देशको अन्त्यमा ‘एक पटकको नेता, सधैँ नेता’ भन्दै रोहितप्रतिको सम्मान व्यक्त गरेको छ।
रोहितले लामो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रतिनिधित्व गरेका थिए। उनको कप्तानीमा नेपाली टोलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता तथा सिरिजमा प्रतिस्पर्धा गर्दै नेपाली क्रिकेटको पहिचानलाई थप बलियो बनाएको थियो।












