नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा डा. शेखर कोइरालाले पनि सम्बोधन गर्ने भएका छन्।

समूहले आगामी २९ गते आयोजना गर्न लागेको भेलामा कोइरालालाई सम्बोधनका लागि निमन्त्रणा गरिएको र उनी कार्यक्रममा उपस्थित भएर सम्बोधन गर्ने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए।

‘नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत सभापतिमा गगन थापालाई चयन गरेपछि पार्टीभित्रको विवाद थप चर्किएको छ।

पूर्वसभापति देउवासहित कांग्रेसका केही शीर्ष नेताले विशेष महाधिवेशन र त्यसबाट निर्वाचित नयाँ नेतृत्वलाई स्वीकार नगरेको अवस्थामा संस्थापन इतर समूहले आफ्नो शक्ति प्रदर्शन गर्ने उद्देश्यले २९ गते राष्ट्रिय भेलाको तयारी गरेको हो।

यसैबीच, सिङ्गापुरमा रहेका पूर्वसभापति शेरबहादुर देउवा २८ गते दिउँसो १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम रहेको कांग्रेस नेता प्रकाशशरण महतले जानकारी दिएका छन्।

२९ गतेको भेलालाई कांग्रेसभित्र देखिएको पछिल्लो विवाद, विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्व र आगामी राजनीतिक रणनीतिका विषयमा समूहको धारणा सार्वजनिक गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।