सिरहामा सद्भाव कायम गर्ने उद्देश्यले राखिएको कार्यक्रममा विवाद भएको छ।

बिहीबार राखिएको अन्तरक्रियामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तपेश्वर यादवको अभिव्यक्तिपछि विवाद सिर्जना भएको हो।

गोलबजारमा हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली राखिएको थियो। शान्ति, सहिष्णुता र आपसी भाइचाराको सन्देश दिन आयोजित कार्यक्रममा दुवै समुदायका नागरिक, जनप्रतिनिधि, उद्योगी–व्यवसायी तथा स्थानीय अगुवाहरूले सुनसरीका तीनजना र सिरहाका एकजना मृतकप्रति संयुक्त रूपमा श्रद्धाञ्जली अर्पण गरेका थिए।

प्रतिनिधिसभा सदस्य तपेश्वर यादवले गोलबजारका केही राजनीतिक दल तथा व्यक्तिलाई लक्षित गर्दै अभिव्यक्ति दिएपछि कार्यक्रम केहीबेर प्रभावित बनेको थियो। उनले गोलबजारकै केही राजनीतिक दल र व्यक्तिका कारण घटना भएको भन्ने आशयको अभिव्यक्ति दिएपछि अन्य राजनीतिक दलका कार्यकर्ता तथा समर्थकबीच भनाभन भएको थियो।

स्थिति तनावपूर्ण बन्दै गएपछि प्रहरीले हस्तक्षेप गर्दै सांसद यादवलाई सुरक्षित रूपमा कार्यक्रमस्थलबाट बाहिर निकालेको थियो।