गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभाको बैठकमा सांसदहरूसँग आफ्नो भाषा र शैली रुखो हुन पुगेको स्वीकार गर्दै माफी मागेका छन्। मनसुनजन्य विपद् व्यवस्थापनका विषयमा भइरहेको छलफलका क्रममा सांसदहरूसँग चर्काचर्की परेपछि मन्त्री गुरुङले रोष्ट्रमबाटै क्षमा याचना गरेका हुन्।
बैठकमा निर्मला पन्त हत्याकाण्डको प्रसङ्गमा गृहमन्त्री गुरुङले आक्रोशित हुँदै ‘मलाई निर्मला पन्तको विषयमा प्रश्न नगर्नुस्’ भन्दै रोष्ट्रमबाटै चेतावनीपूर्ण शैलीमा जवाफ दिएका थिए। मन्त्रीको उक्त रुखो शैली र संसदीय मर्यादा विपरीतको अभिव्यक्तिको सदनमा आलोचना भएपछि उनले तत्कालै गल्ती महसुस गरेका हुन्।
आफ्नो अभिव्यक्तिप्रति प्रश्न उठेपछि पुनः सम्बोधन गर्दै गृहमन्त्री गुरुङले भने, ‘हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ, सिक्दै जानेछौँ। मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो। यसका लागि म क्षमाप्रार्थी छु र हजुरहरूसँग माफी माग्न चाहन्छु।’
उनले आफू नयाँ भएको र अनुभवी सांसदहरूबाट सिक्ने क्रममै रहेको भन्दै आफ्नो शैलीलाई स्वाभाविक रूपमा लिइदिन आग्रह समेत गरे। माफी मागे लगत्तै मन्त्री गुरुङले विपद् व्यवस्थापनको गम्भीर छलफलमा अन्य राजनीतिक मुद्दा मिसाइएकोमा भने आफ्नो असन्तुष्टि कायमै राखे।
उनले भने, ‘विपद् व्यवस्थापनको विषयमा हामी छलफल गर्दै थियौँ, तर विषयकेन्द्रित नभएर निर्मला पन्त हत्याकाण्ड जोडियो। निर्मला पन्त हत्याकाण्ड र मनसुनजन्य विपद् व्यवस्थापनको सम्बन्ध के ? मलाई यो अचम्म लागिरहेको छ। माननीयज्यूहरूले विषयकेन्द्रित भइदिनुपर्छ।’
संसद्मा सरकारका तर्फबाट जवाफ दिने क्रममा मन्त्रीले आफ्नो रुखो व्यवहारका लागि माफी मागेपछि सदनको वातावरण केही मत्थर भएको थियो।












