नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्र नीतिगत र सांगठनिक सुधारका लागि महत्वपूर्ण कामहरू भइरहेको बताएका छन्। 

बीपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा बिहीबार आयोजित ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ घोषणा कार्यक्रममा बोल्दै महामन्त्री घिमिरेले पार्टीलाई आधुनिक र विधिपूर्ण बनाउन चालिएका कदमहरूको फेहरिस्त प्रस्तुत गरे। 

घिमिरेले नयाँ नेतृत्व चयन भएपछि सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा विगतको तुलनामा टिकट वितरणमा पक्षपात नगरिएको दाबी गरे। ‘विशेष महाधिवेशनपछि हामीले टिकट वितरणमा न्यायपूर्ण र निष्पक्ष हुने प्रयास गर्‍यौँ,’ उनले भने, ‘निर्वाचनको प्रभावकारिता बुझ्न सातै प्रदेशमा महामन्त्री गगन थापाको उपस्थितिमा विस्तृत समीक्षा समेत सम्पन्न गरेका छौँ।’

पार्टीको नीतिगत पक्षलाई बलियो बनाउन पार्टीले कदम चालेको घिमिरेले बताए। पार्टीको नीति प्रतिष्ठान अन्तर्गत ३० जना उपसभापतिहरू नियुक्त गरी बौद्धिक र नीतिगत कार्यलाई तीव्रता दिइएको, आगामी निर्वाचनहरूको व्यवस्थापनका लागि उपसभापति पुष्पा भुसालको नेतृत्वमा इलेक्सन ब्यूरो गठन गरिएको, पार्टीभित्र नयाँ नेतृत्व विकासका लागि‘लिडरसिप एकेडमीको व्यवस्था गरिएको जानकारी घिमिरेले दिए। 

कांग्रेसले सत्ता र सदनमा आफ्नो भूमिका प्रभावकारी बनाउन नयाँ संयन्त्रहरू निर्माण गरेको घिमिरेले बताए सभापति गगन थापाको नेतृत्वमा पार्टी र संसद समन्वय समिति गठन गरिएको तथा संसदमा पार्टीको भूमिकालाई व्यवस्थित गर्नु पार्टी–संसद सहजीकरण संयन्त् क्रियाशील रहेको घिमिरेले जानकारी दिए। 

पार्टीलाई थप लोकतान्त्रिक बनाउन प्रारम्भिक निर्वाचनको व्यवस्था गरिएको र सदस्यता अध्यावधिक गर्ने अभियानलाई देशभर सञ्चालन गरिएको उनले बताए। यस्तै, पार्टी बाहिर रहेका विज्ञ र क्षमतावान व्यक्तिहरूलाई भित्र्याउन ‘ल्याटरल इन्ट्री’ को नीतिगत व्यवस्था गरिएको जानकारी दिए।