शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा व्याप्त राजनीतिक हस्तक्षेप र भागबण्डाको प्रवृत्ति अन्त्य गर्दै आगामी चार वर्षभित्र उच्च शिक्षा क्षेत्रलाई पूर्ण रूपमा मेरिटोक्रेसीमा आधारित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसका अवसरमा बिहीबार आयोजित झण्डोत्तोलन समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालय सभाका उपाध्यक्षसमेत रहेका मन्त्री पोखरेलले विश्वविद्यालयको नेतृत्व र प्रशासनिक संरचना अब राजनीतिक भागबण्डाका आधारमा नभई योग्यता, क्षमता र दक्षताका आधारमा निर्माण गरिने बताए।
उनले विश्वविद्यालयमा नियुक्ति, सरुवा, बढुवालगायतका प्रशासनिक तथा शैक्षिक निर्णयमा राजनीतिक दबाब दिने परम्पराको अन्त्य गरिने स्पष्ट पारे। ‘अब विश्वविद्यालयको नेतृत्व र टोली भागबण्डाको राजनीतिका आधारमा होइन, मेरिटोक्रेसीका आधारमा निर्माण हुनेछ,’ मन्त्री पोखरेलले भने, ‘विश्वविद्यालयमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप स्वीकार गरिने छैन। कसैलाई नियुक्त गर्ने, सरुवा गर्ने वा बढुवा गर्ने निर्णय राजनीतिक दबाबका आधारमा हुने छैन।’ मन्त्री पोखरेलले विश्वविद्यालयको प्राज्ञिक वातावरण सुधार र स्वायत्तता संरक्षणका लागि शिक्षा मन्त्रालय दृढतापूर्वक अघि बढ्ने बताए। उनले विश्वविद्यालयमा कुनै पनि राजनीतिक दल वा समूहबाट अनुचित दबाब आए तत्काल मन्त्रालयलाई जानकारी गराउन आग्रह गरे। ‘कुनै पनि प्रकारको राजनीतिक दबाब आए शिक्षा मन्त्रालयलाई तुरुन्त जानकारी गराउनुहोस्। विश्वविद्यालयलाई मेरिटोक्रेसीका आधारमा अघि बढाउने हाम्रो प्रतिबद्धता हो,’ उनले भने। आफ्नै दल वा अन्य कुनै पनि राजनीतिक दलबाट आउने अनुचित दबाबको प्रतिरोध गर्न सरकार तयार रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयका सबै निर्णय योग्यता र क्षमताका आधारमा हुने बताए। उनले विश्वविद्यालय सुधारका लागि राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिँदै आगामी चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनीतिकरण पूर्ण रूपमा अन्त्य गर्ने प्रतिबद्धता दोहोर्याए।




















