मोरङको कानेपोखरीमा पैदल यात्रीलाई ठक्कर दिएपछि फरार गाडीसहित फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ। साउन ३ गते कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा पैदल यात्रीलाई ठक्कर दिएर फरार रहेको बा २ झ २२२६ नम्बरको इसुजु गाडीसहित त्यसका चालकलाई मोरङ प्रहरीले नियन्त्रणमा लिइएको हो।

ठक्करबाट पथरीशनिश्चरे–१० त्रिवेणी चोक बस्ने ६० वर्षका गोविन्द लिम्बू गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएपछि प्रहरीले सवारी ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान तथा खोजतलास अघि बढाएको थियो। इलाका प्रहरी कार्यालय पथरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले बुधबार राति करिब १० बजे सुनसरीको इटहरी उपमहानगरपालिका ५ स्थित हेभी इक्विपमेन्ट सडक डिभिजन विभागको कार्यालयमा लुकाइछिपाइ राखिएको अवस्थामा गाडी फेला पारेको थियो।

गाडीसँगै त्यसका चालक सिराहाको सुखीपुर गाउँपालिका–८ बस्ने ४४ वर्षका राम उद्गार मण्डललाई मोरङ प्रहरीले नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीसँगको समन्वयमा नियन्त्रणमा लिइएका उनी विरुद्ध इलाका प्रहरी कार्यालय पथरी, मोरङले सवारी ज्यान कसूरमा अनुसन्धान सुरु गरेको हो।