नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीमा समानता रहेको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।
बीपी कोइरालाको स्मृति दिवसका अवसरमा बुधबार आयोजित ‘ग्रिन रन’ कार्यक्रममा थापाले ‘गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने’ भन्दै सरकार र प्रतिपक्ष दुवैको शैलीमाथि टिप्पणी गरेका हुन्।
‘म एकछिन पनि नरोकिई पाँच किलोमिटर दौडिएँ,’ सभापति थापाले भने, ‘मसँगै दौडिएका साथीहरूले ठट्टा गर्दै भन्नुभयो– गाडीमा ब्रेक नहुनेले सरकार चलाउने र दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने कुरा ठ्याक्कै मिलेको छ।’ उनले उक्त टिप्पणीलाई सहज रूपमा लिँदै ‘यसपालि यस्तै हो’ भनी जवाफ दिएको सुनाए।
उनले जननायक बीपी कोइरालाले देखाएको बाटोमा दत्तचित्त भएर, दृढ संकल्पित भएर र रत्तिभर विचलित नभई अगाडि बढ्ने प्रण गरे।
थापाले नेपाली कांग्रेसले अब बीपी कोइरालाका सामाजिक न्याय, समावेशिता र प्राकृतिक स्रोतको न्यायपूर्ण उपयोगसम्बन्धी विचारलाई वर्तमान सन्दर्भमा पुनर्जीवित गर्ने बताए । जलवायु परिवर्तनलाई नेपालको विकासको मूल एजेन्डा बनाउने उद्देश्यले पार्टीले विज्ञहरूसँग छलफल सुरु गरेको र त्यसबाट आएका सुझावलाई नीति निर्माणमा समेटिने उनले प्रतिबद्धता जनाए।
कार्यक्रममा थापाले कांग्रेसले ‘मानव सहायता कल्याण कोष’ स्थापना गरेको र त्यसमा सुरुआतमै १० लाख रुपैयाँ जम्मा भएको जानकारी पनि गराए। उनका अनुसार उक्त रकम तत्कालका लागि विस्थापित सुकुमवासी परिवार, विशेषगरी एकल महिला र शिक्षाबाट वञ्चित हुन थालेका बालबालिकाको सहयोगमा खर्च गरिने जानकारी दिए।
थापाले ‘ग्रिन रन’ केवल जनचेतनामूलक कार्यक्रम नभई नयाँ सामाजिक अभियानको सुरुआत भएको उल्लेख गर्दै कांग्रेसले देशव्यापी नयाँ अभियान विहीबार सार्वजनिक गर्ने जानकारी दिए।




















