प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको स्मृति दिवसका अवसरमा आज ५ किलोमिटर ‘ग्रीन रन’ (दौड) आयोजना गरिएको छ।
नेपाली कांग्रेसद्वारा आयोजित उक्त दौड ललितपुरको युएन पार्कबाट सुरु भई जावलाखेलस्थित फाल्चामा पुगेर सम्पन्न भएको हो। स्वास्थ्य र वातावरण सचेतनाको सन्देश दिने उद्देश्यले आयोजित यस ‘ग्रीन रन’मा नेपाली कांग्रेसका सभापति लगायत पार्टीका विभिन्न तहका नेता(कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
त्यसैगरी, ‘ग्रीन रन’ कार्यक्रमसँगै सभापति गगनकुमार थापाले मानव सहायता कल्याण कोष स्थापनाको घोषणा गरेका हुन्।
कोषको उक्त रकमबाट घरबारविहीन बनाइएका एकल महिला तथा बालबालिकालाई सहयोग गरिने उनले जानकारी दिए। कोषमा अहिले पार्टीका सदस्यहरूको तर्फबाट संकलन गरिएको १० लाख रुपैयाँ जम्मा भएको र यसलाई बढाउँदै लैजाने उनले बताए।




















