विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जना वृद्ध कैदीको मृत्यु भएको छ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–६ घर भएका ७० वर्षीय रामप्रसाद दाहालको आइतबार बिहानका राति मृत्यु भएको कारागार प्रशासक राजन घिमिरेले बताए। अचानक चक्कर लाग्ने र सास फर्ने गाह्रो हुने समस्या देखिएपछि दाहाललाई उपचारका लागि शनिबार बिहान विराटनगरको कोशी अस्पताल भर्ना गरिएको थियो।

उनी बिरामी परेपछि कारागार प्रशासनले परिवार र आफन्तलाई जानकारी गराएको थियो। परिवारका सदस्य र आफन्तको उपस्थितिमा उपचार जारी रहेका बेला दाहालको मृत्यु भएको कारागारले जनाएको छ।

जबरजस्ती करणी मुद्दामा २०७५ साल पुस ६ गते पुर्पक्षका लागि कारागार चलान गरिएका उनलाई पछि जिल्ला अदालत मोरङले दोषी ठहर गर्दै १६ वर्ष कैद सजायको फैसला सुनाएको थियो। अदालतको फैसला अनुसार कैद सजाय भुक्तानका लागि दाहालले २०९१ साल पुस ६ गतेसम्म कारागारमा बस्नुपर्ने थियो।

उनको शव हाल अस्पतालमै रहेको र परिवारलाई जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको कारागार प्रशासक घिमिरेले बताए।

जिल्ला कारागार मोरङमा हाल १ हजार २ सय ८ जना कैदीबन्दी रहेका छन्। कारागार प्रशासनका अनुसार आश्रित बालिका १ जना, महिला १ सय १० जना र पुरुष १ हजार ९७ जना रहेका हुन्।