सङ्खुवासभाको खाँदबारीस्थित जिल्ला कारागारमा दुई जना कैदीको मृत्यु भएको घटनामा संलग्न १५ जनालाई अदालतले जन्मकैदको सजाय सुनाएको छ।
कारागारमा २०८० साउन २४ गते भएको घटनामा दुई कैदीको कुटपिटका क्रममा मृत्यु भएको थियो। घटनापछि गरिएको अनुसन्धानका आधारमा सुरक्षाकर्मी र कैदीबन्दी मिलेर सामूहिक रूपमा कुटपिट गरेको पुष्टि भएको अदालतले जनाएको छ।
घटनालगत्तै जिल्ला कारागारका तत्कालीन इन्चार्ज प्रहरी सहायक निरीक्षकसहित सात जना प्रहरी र आठ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको थियो। दुई कैदी हत्या प्रकरणका सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला भएको संखुवासभा जिल्ला अदालतका स्रेस्तेदार उज्वल न्यौपानेले जानकारी दिए। न्यायाधीश राजकुमार कोइरालाको इजलासले मलुकी अपराध संहिता, २०७४ को दफा १७१ (१) बमोजिमको कसुरमा जन्मकैदको फैसला सुनाएको हो।
सोही संहिताको १८६ बमोजिम प्रतिवादीबाट जनही ५० हजार रुपैयाँ तोलांगी र बलामीका नजिकका हकदारलाई क्षतिपूर्ति भराउने ठहर गरिएको अदालतका स्रेस्तेदार न्यौपानेले बताए।
कैदी हत्या घटनामा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षा गार्ड नुसन राईलाई जन्मकैदको पैmसला भएको छ।
यस्तै, चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीहरू मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेलाई समेत जन्मकैदको फैसला भएको अदालतका स्रेस्तादार न्यौपानेले जानकारी दिए।




















