नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा “एक दिवसीय प्रदेश स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठी-२०८३ सम्पन्न भएको छ।

जेठ ३१ गते कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा सम्पन्न भएको समिक्षा गोष्ठीको प्रमुख अतिथि कोशी प्रदेशका  माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको औपचारिकरुपमा समुद्‌घाटन गर्नु भएको थियो। समुद्‍घाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि कार्कीले जहाँ बर्दिधारी प्रहरी हुन्छ त्यहाँ सरकारको उपस्थिति हुने हुँदा आम नागरिकहरुको भरोसा र बिश्वासलाई कायम राख्न प्रहरीले त्रुटीरहित तवरबाट प्रहरी अनुसन्धान गर्नु पर्ने बताउनुभयो। उहाँले साधन स्रोतको अभावमा अपराधको सफल अनुसन्धान गर्न कठिनाई भएको हुँदा प्रहरीलाई अपराध अनुसन्धान कार्यको निम्ति आवश्यक श्रोत साधन उपलव्ध गराउन प्रदेश सरकार तत्पर रहेको बताउनुभयो। मन्तव्यको क्रममा उहाँले प्रहरीले गर्ने अपराध अनुसन्धान कार्यमा कसैको दवाव र प्रभावमा नपरी प्रविधिको उच्चतम प्रयोग गरी कानून बमोजिम अनुसन्धान गर्नुपर्ने बताउनुभयो।

2कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक सुशील सिंह राठौरले विज्ञान र सूचना प्रविधिले मानवीय जीवनलाई छिटो छरीतो र प्रभावकारी बनाएता पनि यसको दुरुपयोगले अपराधका घटनाहरु बढ्नुका साथै प्रहरी अनुसन्धानमा चुनौतीहरु समेत थपिएको बताउनु भयो। उहाँले अनुसन्धान प्रक्रियामा देखिएका विभिन्न समस्याबारे जानकारी आदान–प्रदान गर्दै अन्तरनिकाय समन्वयलाई थप प्रभावकारी  बनाई समाधानका उपायहरूको खोजी गर्न तथा अनुसन्धानलाई  प्रभावकारी, निष्पक्ष र परिणाममुखी बनाउन गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गर्नु भयो।

गोष्ठीमा कार्यक्रमका विशिष्ट अतिथि मोरङ जिल्ला अदालतका माननीय न्यायाधीश दुर्गा बहादुर भुषालले प्रहरीले गर्ने अनुसन्धानले नै न्याय सम्पादन हुने हुँदा अनुसन्धानलाई प्रमाणमुखी, निष्पक्ष, पारदर्शी र कानून बमोजिम गर्नु पर्ने वताउँदै गोष्ठीको सफलताको शुभकामना सहितको मन्तव्य राख्नु भएको थियो।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले अपराध अनुसन्धानका क्षेत्रमा काम गर्ने प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै वैज्ञानिक र वस्तुनिष्ठ अनुसन्धानको विकास गर्न यस्ता कार्यक्रम निरन्तर रूपमा सञ्चालन हुन आवश्यक रहेको बताउदै गोष्ठीबाट प्राप्त भएका निष्कर्षहरूलाई कोशी प्रदेश प्रहरी कार्यालयले आगामी दिनमा कार्ययोजना बनाई अझ सशक्त रूपमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। साथै वहाँले अन्तर जिल्ला समन्वयलाई थप प्रभावकारी बनाई गोष्ठीको निष्कर्षलाई आफ्नो मार्ग निर्देशनको रूपमा ग्रहण गरी कार्य सम्पादन सम्झौतामा बमोजिम शत प्रतिशत लक्ष्य हासिल हुने गरी कार्य गर्नरगराउन उपस्थित कोशी प्रदेश अन्तर्गतका सम्पूर्ण प्रहरी प्रमुख एवं अनुसन्धानकर्ताहरुलाई निर्देशन समेत दिनु भयो।

गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीले विधिको शासन कायम भएमा अपराध मुक्त समाज निर्माण हुने र कानूनको उद्धेश्य न्याय दिनु मात्र नभई अन्याय हुन नदिनु पनि हो भन्दै समाजमा शान्ति सुरक्षा कायम राख्न एकल प्रयासले मात्र सम्भव नहुने हुँदा अन्तर निकायहरुसंगको समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो। उहाँले अपराधसंग सम्बन्धित कानूनी व्यवस्था, अनुसन्धानमा देखिएका चुनौतीहरुको बारेमा बताउनु हुदै कार्यक्रमको औचित्य सहितको मन्तव्य व्यक्त गर्नु भएको थियो।

गोष्ठीमा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले प्रहरीको ईच्छा शक्ति बढाई पिरमार्कामा परेकालाई न्याय दिन र वर्दीको सम्मान गरी निष्पक्ष अनुसन्धान गर्न उदाहरण सहित गोष्ठीको शुभकामना सहितको मन्तव्य व्यक्त गर्नु भएको थियो भने जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता लेखनाथ ढकालले अनुसन्धानको नेतृत्व गरीरहेको नेपाल प्रहरीलाई गोष्ठीले थप सक्षम र प्रभावकारी बनाउने वताउनुका साथै अनुसन्धानको क्रममा हुने त्रुटीहरु, नविनतम् कानूनी प्रावधानहरुको प्रयोग र सुधारका क्षेत्रहरूका बारेमा सरकारी वकिल कार्यालयको तर्फवाट प्रस्तुतिकरण समेत गर्नु भएको थियो । यसै गरी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कमल रिमालले प्रहरीले गर्नु पर्ने अनुसन्धान कसैको दवाव र प्रभावमा नपरी कानून वमोजिम निष्पक्ष हुनु पर्ने बताउदै गोष्ठीको शुभकामना सहितको मन्तव्य व्यक्त गर्नु भएको थियो।

7गोष्ठीमा कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरुका प्रमुखहरुले जिल्लामा भएका अपराध अनुसन्धानको विद्यमान अवस्था, सफल अनुसन्धान, अनुसन्धानका क्रममा आईपर्ने समस्या, चुनौती एवं तालुक कार्यालयसंगको अपेक्षाको वारेमा बुँदागत प्रस्तुतीकरण गर्नु भएको थियो । यसैगरी नेपाल प्रदेश प्रहरी कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र फुँयालले अपराध विश्लेषण, चुनौती, अनुगमका क्रममा देखिएका कमि कमजोरी सहितको प्रस्तुतिकरण गर्नु भएको थियो भने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तर्फबाट प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले समग्र कोशी प्रदेशको अपराधको अवस्था, अपराध अनुसन्धानमा कोशी प्रदेश प्रहरी कार्यालयको भुमिका र तालुक कार्यालयसँगको अपेक्षा सहितको प्रस्तुतिकरण गर्नु भएको थियो।

कार्यक्रममा अपराध अनुसन्धानमा देखिएका कमीकमजोरी, सुधारका पक्षहरू, अनुसन्धान कार्यमा आवस्यक पर्ने प्राविधिक श्रोत साधनहरूको व्यवस्थापन, अपराधहरूको विद्यमान अवस्था, पछिल्लो समयमा प्रविधिको विकाससंगै अपराधका घटनाहरूमा देखा परेका चुनौतीहरू, अन्तर निकायसंगको समन्वय र सहकार्य लगायतका विषयमा अन्तरक्रिया तथा छलफल भएको थियो भने गोष्ठिमा उपस्थित जिल्ला प्रहरी कार्यालय प्रमुख र कसुरको अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालय प्रमुख सहित अनुसन्धान शाखा प्रमुखले अनुसन्धानमा प्रभावकारिता ल्याउने उद्देश्यले कानूनी परिधी भित्र रही प्राप्त श्रोत साधनहरूको अधिकतम उपयोग गरी अनुसन्धान कार्यलाई वैज्ञानिक, प्रमाणमुखी र पीडितमैत्री बनाउन प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

उक्त अपराध अनुसन्धान समिक्षा गोष्ठीमा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ट उपरीक्षक योगेन्द्र सिंह थापा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी, कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षकहरु लगायत प्रहरी अधिकृतहरुका साथै कार्यक्रमको पहिलो चरणमा संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो। 

अपराध अनुसन्धानमा बढेका चुनौतीहरूको समाधानका लागि नयाँ(नयाँ प्रविधिको प्रयोग गर्ने, अपराध अनुसन्धान गर्ने ईकाइहरूको वर्तमान अवस्था, विद्यमान जनशक्ति तथा स्रोत साधनहरूबीचको अधिकतम प्रयोग एवं अन्तर कार्यालय संगको समन्वय गर्नु गोष्ठीको मुख्य उद्देश्य रहेको छ।