पूर्वाधार विकासमन्त्री सुनील लम्सालले निर्माणाधीन नागढुंगा–मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा दिएको अभिव्यक्ति विवादित बनेको छ।
काम नगर्ने ठेकेदारलाई खोजेर ल्याएर खुट्टा भाँचेर भए पनि काम लगाउन निर्देशन दिएपछि उनको अभिव्यक्ति विवादित बनेको हो। आइतबार मुग्लिङदेखि नागढुंगा सडकखण्डको निरीक्षणका क्रममा मन्त्री लम्सालले सडकमा रहेको बिजुलीको पोल हटाउन ढिला गर्ने ठेकेदारप्रति आक्रोश व्यक्त गरेका हुन्।
अनुगमनका क्रममा धादिङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र आयोजना प्रमुखलगायतका सरोकारवाला अधिकारीहरूलाई सँगै राखेर उनले निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिए। निर्देशन दिँदै मन्त्री लम्सालले भने,‘यो बिजुलीको पोलको कन्ट्र्याक्ट पेपर र कन्ट्र्याक्टर कहाँ छ, खोजेर ल्याउनुस्। त्यसले काम गरेन भने खुट्टा भाँचिदिनु, मतलब भएन। यहाँको पब्लिकले धेरै दु:ख पाए।'
यस्तै, मन्त्री लम्सालले आयोजनामा देखिएका समस्या तथा अवरोध तत्काल समाधान गर्न मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।




















