सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आवश्यक परे नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाउन माग गरेकी छन्। सोमबारको प्रतिनिधिसभाको बैठकमा बैठकमा बोल्दै सांसद तामाङले यदि राज्यले आफ्नो भूमिको रक्षा गर्न सकेन भने त्यसले देशको सार्वभौमिकतामै प्रश्न उठाउने बताइन्।
‘आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा वाल लगाउनुपरे वाल नत्र भने काँडेतार भने पनि लगाइयोस्,’ उनले भनिन्। कुनै पनि राष्ट्रको सार्वभौमिताको आधार भनेकै आफ्नो भू–भागको संरक्षण र सीमाको सुरक्षाको सुनिश्चितता भएको सांसद तामाङले भनाइ छ।
नेपाल सरकारले सीमासम्बन्धी सत्यतथ्य छानबिन गरी आवश्यक कूटनीतिक पहल गरी सीमा विवाद समाधानको काम अगाडि बढाउन उनको आग्रह छ।
‘लिपुलेक, लिम्पियाधुरा र कालापानीजस्ता क्षेत्रहरू नेपालका क्षेत्रहरू नेपालको नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतासँग जोडिएको संवेदनशील विषय हुन्’, उनले भनिन्।
सुस्तामा देखिएको समस्याको बारेमा सरकारले अपनाउने रणनीतिको बारेमा जानकारी दिन आवश्यक रहेको उनले बताइन्। ‘पछिल्लो समय त्यहाँ भारतीय सशस्त्र सीमा बल (एसएसबी) का गतिविधि तथा स्थनीय नागरिकलाई धम्क्याइएको भन्ने समाचार सार्वजनिक भएका छन्। यस घटनाको वास्तविकता के हो ? सरकारले यसबारे के कस्ता कदम चालेको छ ? आगामी रणनीति के छ भन्ने विषयमा जानकारी दिन आवश्यक छ,’ उनले भनिन्।




















