कैलालीको गोदावरी नगरपालिका–४, गाइमारे चुरे वन क्षेत्रमा अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट पल्टाइएको विषय छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णयानुसार प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा समिति गठन गरेको हो।
समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाई सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले पत्रकार सम्मेलन गर्दै जानकारी दिए।
डिभिजन वन कार्यालय कैलालीले विभिन्न स्थानमा अतिक्रमण हटाउने अभियान सञ्चालन गरिरहेको अवस्थामा शुक्रबार गोदावरी सामुदायिक वन क्षेत्रभित्र टेम्पो भीरबाट पल्टाइएको थियो। त्यससम्बन्धी फोटो र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सरकारको चौतर्फी आलोचना गरिँदै छ। यही विषयमा मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको हो।
छानबिन समितिमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालयका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा सदस्य छन्।
समितिलाई घटनाका सबै पक्षको अध्ययन, आवश्यक प्रमाण संकलन तथा जिम्मेवार निकायसँग समन्वय गरी वस्तुनिष्ठ प्रतिवेदन बुझाउन निर्देशन दिइएको सचिव कोइरालाले बताए।
प्रदेश सरकारले छानबिनबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक निर्णय गरिने जनाएको छ।
यसअघि, आइतबार जिल्ला वन कार्यालयका प्रमुख रामविचारी ठाकुरले पत्रकार सम्मेलन गर्दै टेम्पो नियतवश नखसाइएको बताएका थिए। हाल उनीसहित संलग्न अरू कर्मचारी सोधपुछका निम्ति जिल्ला प्रहरी कार्यालय कैलालीको निगरानीमा छन्।




















