नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सीमासम्बन्धी पछिल्लो अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्। सोमबार (असार १) प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले उक्त विषयमा सभामुखको ‘रुलिङ’ र प्रधानमन्त्रीको स्पष्टीकरण आवश्यक रहेको बताए।

उनले दार्चुलाको नेपाली भूमिमा भारतीय सेनाको हेलिकोप्टर अवतरण गरेको भनिएको समाचारप्रति सरकारको आधिकारिक जवाफ माग गरे। भारतीय सुरक्षा निकायका उच्च पदाधिकारी सवार हेलिकोप्टर नेपाली भूमिमा अवतरण हुनु गम्भीर विषय भएको उनले उल्लेख गरे। उनले यसबारे यथार्थ जानकारी गराउन सरकारसँग माग गरे।

उनले पूर्वी नेपालको इलाममा चिया उद्योगले भोग्नुपरेको संकटप्रति पनि सदनको ध्यानाकर्षण गराए। भारतीय अवरोधका कारण इलामको प्रसिद्ध चिया उद्योग बन्द हुने अवस्थामा पुगेको र त्यसबाट किसान तथा व्यवसायी ठूलो पीडामा रहेको उनले बताए।

“भारतीय अवरोधले उद्योगधन्दा र रोजगारी बन्द हुने स्थिति सिर्जना भएको छ,” उनले भने, “यसतर्फ सरकारको ध्यान किन जान सकेको छैन?”

प्रमुख सचेतक दुलालले देशमा हालै घटेका विभिन्न घटना – जस्तै, टेम्पो पल्टाइएको, घरका छानामा ढुंगा प्रहार गरिएको र उद्योगहरू बन्द हुन लागेको विषयमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने धारणा राखे।

उनले जनताका जल्दाबल्दा समस्या समाधान गर्न र सदनमार्फत आमनागरिकलाई राहतको अनुभूति गराउन प्रधानमन्त्रीलाई आग्रह समेत गरे।