फाइल खोल्ने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भनाइप्रति नेकपा एमालेले आपत्ति जनाएको छ। अर्थमन्त्रीले संसद्को रोष्ट्रमबाट विपक्षीलाई धम्की दिएकोमा एमालेले खेद व्यक्ति गरेको छ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय लिएर नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले अर्थमन्त्रीको धम्की आपत्तिपूर्ण भएको बताएकी हुन् ।
‘अर्थमन्त्रीले कसलाई फाइल खोल्ने धम्की दिनुभएको छ ? पहिलो नम्बरमा गिरिबन्धु टी स्टेटको फाइल खोल्नुस्, ओम्नी, यति र वाइडवडीको फाइल खोल्नुस्,’ अर्यालले भनिन्, ‘धम्क्याउने कुरा खेदजनक छ।’
अर्यालले विगतको बोझ नबोक्ने भनेर परराष्ट्रमन्त्रीले भारतमा दिएको अभिव्यक्ति पनि आपत्तिजनक रहेको बताइन्।
‘प्रधानमन्त्रीको अभिव्यक्तिका कारण हामीले आन्दोलन गरिरहेका छौं, बजेटका कारण संघर्षको रूप परिवर्तन गरेका हौं,’ अर्यालले भनिन्, परराष्ट्रमन्त्रीले भारतमा गएर इतिहासको बोझ बोक्न नसक्ने कुरा गर्नुभएको छ। अतीतको बोझ बोक्न सक्दैनौं भनेर के भन्न खोज्नु भएको हो ?’
सरकार परिवर्तन हुँदैमा राष्ट्रको परराष्ट्र नीति परिवर्तन नहुने भन्दै उनले सरकारका मन्त्रीहरूको भनाइमा आपत्ति जनाइन्।




















